काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा सडक सञ्जाल प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार काठमाडौँ उपत्यका जोड्ने प्रमुख सडकदेखि कोशी र बागमती प्रदेशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ।

काठमाडौँ प्रवेश गर्ने तथा बाहिरिने प्रमुख मार्गका रूपमा रहेको नागढुंगा–मुग्लिन सडकखण्ड बाढीको जोखिमलाई मध्यनजर गर्दै भाद्र १० गते बिहान १० बजेदेखि पूर्ण रूपमा बन्द गरिएको छ।

त्यस्तै, बागमती प्रदेशका विभिन्न सडकमा पनि बाढी तथा पहिरोको जोखिमका कारण आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ। बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ। दिउँसोको समयमा भने सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।

कान्ति लोकपथअन्तर्गत हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडकखण्डमा पनि रातको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। उक्त सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात रोकिएको प्रहरीले जनाएको छ।

यसैगरी, त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको उत्तरगया–५ खाल्टेमा बाढीले सडकमा क्षति पुर्‍याएपछि मार्ग पूर्ण रूपमा अवरुद्ध छ। नुवाकोटतर्फ जाने टोखा–छहरे सडकखण्डमा समेत रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ भने जिल्लाका अन्य केही प्रमुख सडकखण्ड पनि बाढीका कारण प्रभावित भएका छन्।

पूर्वी नेपालतर्फ मेची राजमार्गको इलामस्थित राजदुवाली क्षेत्रमा लगातारको वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। झापाबाट ताप्लेजुङ जाने यात्रुका लागि भने वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

बाढी, पहिरो तथा वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले प्रहरीले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न आग्रह गरेको छ। यात्रामा निस्कनुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझ्न तथा नजिकको प्रहरी कार्यालयसँग आवश्यक जानकारी लिनसमेत सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय