
१० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दैछन्। रसुवामा आएको भीषण बाढीबाट भएको क्षति तथा देशका विभिन्न जिल्लामा परेको विपद्को प्रभावबारे उनले संसद्मा धारणा राख्ने भएका हुन्।
बुधबार बिहान रसुवागढी क्षेत्रमा आएको ठूलो बाढीले व्यापक क्षति पुर्याएको छ। भोटेकोशी नदीमा बाढी मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसीलगायत क्षेत्र प्रभावित भएका छन्।

बाढीका कारण बस्ती तथा बजार क्षेत्रसँगै प्रहरी कार्यालय, सडक र जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुगेको विवरण सार्वजनिक भएका छन्। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र बनाइएको छ।
सरकारले सुरक्षा निकाय परिचालन गरी उद्धार तथा राहतका काम अघि बढाइरहेको जनाएको छ। यही विषयसहित बाढीबाट उत्पन्न पछिल्लो अवस्थाबारे लामिछानेले प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका हुन्।




