काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग छलफल गरेका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सांसद सहभागी थिए। छलफलमा बाढीबाट भएको क्षति, तटीय क्षेत्रका बस्तीको अवस्था तथा प्रभावित नागरिकको उद्धार र राहतका विषयमा जानकारी लिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलका क्रममा सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा बाढीले पुर्‍याएको क्षति र प्रभावितको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै तत्काल खोज, उद्धार तथा राहतलाई प्रभावकारी बनाउन आवश्यक कदम चाल्न आग्रह गरेका थिए।

प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकको सुरक्षा तथा राहतमा सरकार गम्भीरतापूर्वक परिचालित रहेको बताएका छन्। उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी गराए।

यसअघि प्रधानमन्त्री शाहले बुधबार नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, खोज तथा उद्धार र राहत कार्यको प्रगतिबारे जानकारी लिएका थिए।

सरकारका अनुसार बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी बेपत्ता तथा प्रभावितको खोजी, उद्धार र राहत वितरणलाई तीव्रता दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय