वीरगञ्ज । लामो समयदेखि बन्द रहेको वीरगञ्जस्थित चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलले स्थलगत अध्ययन थालेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले पिपरास्थित चिनी मिल परिसरमा पुगेर कारखानाको भौतिक तथा प्राविधिक अवस्थाबारे अनुगमन गरेको हो ।

स्थलगत निरीक्षणका क्रममा कार्यदलले कारखाना भवन, अन्य भौतिक संरचना, मेसिनरी तथा विभिन्न पार्टपुर्जाको वर्तमान अवस्था अवलोकन गर्नुका साथै तिनलाई पुनःप्रयोग गर्न सकिने सम्भावनाबारे अध्ययन गरेको संयोजक यादवले जानकारी दिए ।

सरकारले भदौ १ गते वीरगञ्ज चिनी मिल पुनःसञ्चालन गर्न सकिने वा नसकिनेबारे अध्ययन गर्न यादवको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा मन्त्रालयका शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्मा सदस्य छन् ।

कार्यदललाई १५ दिनभित्र मिलको वर्तमान अवस्था, पुनःसञ्चालनका लागि आवश्यक लगानी तथा प्राविधिक पक्षको अध्ययन गरी सम्भाव्यता र आवश्यक कार्ययोजनासहित सरकारलाई सुझाव दिने जिम्मेवारी दिइएको छ ।

बन्द अवस्थामा रहेको चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन सुरु भएसँगै मिल सञ्चालनमा आउने अपेक्षा बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय