काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि आक्रमण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

मंगलबार बिहान काठमाडौँ महानगरपालिका–१० स्थित पुरानो संसद भवननजिकै ड्युटीमा रहेकी महिला प्रहरीसँग विवाद भएपछि जुम्लाको तातोपानी घर भएका २७ वर्षीय राज कठायतले आक्रमण गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सडक पार गर्ने क्रममा महिला प्रहरीले आकाशेपुल प्रयोग गर्न आग्रह गरेपछि कठायत आक्रोशित भएका थिए। आकाशेपुल नजिकै रहेको र जथाभावी सडक पार गर्दा दुर्घटनाको जोखिम हुने भन्दै प्रहरीले उनलाई सुरक्षित रूपमा पुलबाट बाटो काट्न आग्रह गरेकी थिइन्।

त्यस क्रममा विवाद बढेपछि कठायतले प्रहरी कर्मचारीमाथि आक्रमण गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए।

घटनापछि पिक आवरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीको सहयोगमा कठायतलाई नियन्त्रणमा लिइएको हो। उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले पुष्टि गरेका छन्।

घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय