रुकुमपूर्व, ९ भदौ । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–६ का स्थानीयवासीलाई वर्षायाम सुरु भएसँगै म्याङ खोला वारपार गर्न समस्या हुने गरेको छ। शहीद मार्गअन्तर्गत पर्ने म्याङ खोलामा स्थायी पुल निर्माण नहुँदा स्थानीयले काठका अस्थायी साँघुको भरमा आवतजावत गर्दै आएका छन्।

 

खोलामा पानीको बहाव बढेपछि बनाइएका अस्थायी साँघुहरू समेत बाढीले बगाउने गरेका छन्। साँघु बगेपछि स्थानीय युवाहरू मिलेर पुनः काठ जोडेर अस्थायी बाटो बनाउने गर्छन्। तर, केही समयमै आएको अर्को बाढीले फेरि साँघु बगाउने गरेको छ। यसरी हरेक वर्षायाममा साँघु निर्माण र बग्ने क्रम दोहोरिँदै आएको स्थानीयको भनाइ छ।

 

यस क्षेत्रमा गत जेठदेखि सवारीसाधन सञ्चालनमा आए पनि पुलको अभावका कारण वर्षायाममा सडक यात्रा सहज हुन सकेको छैन। म्याङ खोलामा पानीको बहाव बढ्दा यात्रु तथा स्थानीयवासी जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।

 

पुथा उत्तरगंगा–६ का वडाध्यक्ष संखे सेनका अनुसार स्याङ खोलाबाट आउने बाढीका कारण म्याङ खोलामा पानीको बहाव झनै बढ्ने गरेको छ। उनका अनुसार साउन महिनामा मात्रै बाढीले काठबाट बनाइएका अस्थायी साँघु सातपटकसम्म बगाएको थियो।

 

‘गाउँका युवाहरू मिलेर साँघु हाल्छन्। बाढी आएपछि बगाउँछ र फेरि साँघु बनाउनुपर्छ,’ वडाध्यक्ष सेनले भने, ‘वर्षायाममा विद्यार्थी, बिरामी तथा दैनिक कामका लागि आवतजावत गर्ने नागरिकले निकै सास्ती खेप्नुपरेको छ।’

 

स्थायी पुल नहुँदा विशेषगरी विद्यार्थी, बिरामी तथा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्ने स्थानीय बढी प्रभावित हुने गरेका छन्। स्थानीयवासीले म्याङ खोलामा स्थायी पुल निर्माणका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय