
काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अब ९ सिटसम्मका निजी सवारीसाधनले समेत प्रयोग गर्न पाउने भएका छन्। सडक विभागले सोमबार बिहान ९ बजेदेखि कार, जीप, भ्यानलगायत निजी सवारीसाधनलाई सुरुङमार्ग हुँदै आवतजावत गर्न अनुमति दिएको हो।
यसअघि सुरुङमार्गमा इमर्जेन्सी सवारी, एम्बुलेन्स तथा सरकारी नम्बर प्लेट भएका सवारीसाधनलाई मात्र सञ्चालनको अनुमति दिइएको थियो। नयाँ व्यवस्थासँगै ९ यात्रुसम्म बोक्ने क्षमता भएका निजी सवारीले पनि काठमाडौँ–धादिङ सडकखण्डमा सुरुङमार्ग प्रयोग गर्न सक्नेछन्।

सडक विभागका अनुसार सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको उकालो सडकमा हुने आवागमनको चाप कम गर्न तथा यात्रालाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अब काठमाडौँबाट धादिङतर्फ जाने र धादिङबाट काठमाडौँ आउने निजी सवारीसाधनले परम्परागत नागढुंगा सडकको विकल्पका रूपमा सुरुङमार्ग प्रयोग गर्न सक्नेछन्।
सुरुङमार्ग निजी सवारीका लागि खुला भएसँगै काठमाडौँ उपत्यका प्रवेश तथा बाहिरिने यात्रुको आवागमन थप सहज र छोटो हुने अपेक्षा गरिएको छ।




