
काठमाडौं । तारकेश्वर नगरपालिका–६ जरङ्खुको अष्टमान टोलमा जमिन कटानपछि गएको पहिरोका कारण करिब ५० घर प्रभावित भएका छन्। पहिरोका कारण ४–५ घर उच्च जोखिममा परेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार घर निर्माणका लागि डोजर प्रयोग गरी जमिन काटिएपछि उक्त क्षेत्रमा पहिरोको समस्या देखिएको हो। करिब दुई वर्षदेखि निर्माणको काम भइरहे पनि काम सुस्त गतिमा अघि बढ्दा समस्या थपिएको उनीहरूको गुनासो छ।
पहिरोका कारण टोलको सडकमा माटो तथा बालुवा थुप्रिँदा स्थानीयलाई आवतजावत गर्नसमेत कठिनाइ भएको छ। निर्माणस्थलबाट निस्किएको माटो समयमा नहटाउँदा सडकको अवस्था थप जोखिमपूर्ण बनेको स्थानीयको भनाइ छ।
समस्या समाधानका लागि स्थानीयले वडा कार्यालय तथा जनप्रतिनिधिलाई पटक–पटक जानकारी गराउँदै आए पनि अपेक्षित पहल हुन नसकेको गुनासो गरेका छन्। उपप्रमुखबाट समस्या निरीक्षण गर्ने आश्वासन पाए पनि पहिरो नियन्त्रणका लागि ठोस काम अघि नबढेको उनीहरूको भनाइ छ।
स्थानीय तथा टोल सुधार समितिले निर्माण पक्षसँग समेत छलफल गरिरहेको जनाएका छन्। उनीहरूले जोखिममा रहेका घर तथा सडकको सुरक्षाका लागि तत्काल पहिरो नियन्त्रण र आवश्यक व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।




