
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामै नेपालबाट हुने आयात र निर्यात दुवैमा उल्लेख्य वृद्धि भएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आवको साउनमा रु १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार बराबरका वस्तु तथा सामान नेपाल भित्रिएका छन्।

यो रकम गत आर्थिक वर्षको साउनको तुलनामा ३१ दशमलव ०४ प्रतिशत बढी हो। गत आवको सोही महिनामा नेपालले रु १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख ६९ हजार बराबरका वस्तु आयात गरेको थियो।
त्यस्तै, चालु आवको साउनमा नेपालबाट रु ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार बराबरका वस्तु विदेशी बजारमा निर्यात भएका छन्। विभागका अनुसार गत आवको साउनको तुलनामा निर्यात ६१ दशमलव ७२ प्रतिशतले वृद्धि भएको हो।
गत आर्थिक वर्षको साउनमा नेपालबाट रु २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार बराबरका वस्तु निर्यात भएका थिए।
आयातको तुलनामा निर्यातको वृद्धिदर उच्च देखिए पनि साउन महिनामा नेपालको व्यापार घाटा भने कायम रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ।




