काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले बाराको जीतपुर सिमरामा बालिकाको हत्या भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

 

घिसिङले शनिबार जारी गरेको विज्ञप्तिमार्फत घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीको पहिचान गरी कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरेका हुन्।

 

जीतपुर सिमरा उपमहानगरपालिका–१, दसधुरास्थित बस्तीबाट साउन ३१ गतेदेखि बेपत्ता भएकी बालिकाको शव भदौ २ गते सोही स्थानको एक घरमा फेला परेको थियो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बालिकामाथि करणीपछि हत्या भएको देखिएको छ।

 

उज्यालो नेपाल पार्टीले घटनालाई गम्भीर र जघन्य अपराधका रूपमा लिँदै निष्पक्ष अनुसन्धानमार्फत सत्यतथ्य सार्वजनिक गर्नुपर्ने जनाएको छ। साथै, बालबालिकाको सुरक्षा सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएकाले यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी सुरक्षा व्यवस्था र कानुनी कार्यान्वयनमा जोड दिनुपर्ने पार्टीको भनाइ छ।

 

पार्टीले पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी अनुसन्धानलाई प्रभावकारी बनाउन तथा दोषीलाई कुनै पनि दबाब वा प्रभावबाट मुक्त भएर कानुनी कठघरामा उभ्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय