काठमाडौँ । नेपालमा विपद्का घटना निरन्तर बढिरहेका बेला पछिल्लो चार महिनाभन्दा बढी अवधिमा मात्रै ५ हजारभन्दा बढी विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कले यस अवधिमा विपद्का कारण ठूलो मानवीय क्षति भएको देखाएको छ।

 

गत वैशाख १ देखि भदौ ५ गतेसम्म देशभर ५ हजार १४ वटा विपद्का घटना अभिलेख भएका छन्। ती घटनामा २५० जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन्। विपद्मा परी १ हजार ६०७ जना घाइते भएका छन्।

 

प्राधिकरणका अनुसार विपद्का घटनाबाट ६ हजार २७२ परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै आगलागीका घटना भएका छन्। चार महिनाको अवधिमा आगलागीका १ हजार १३६ घटना दर्ता भएका छन्।

 

आगलागीपछि पहिरो र सर्पदंश पनि प्रमुख विपद्का रूपमा देखिएका छन्। पहिरोका १ हजार ११ तथा सर्पदंशका १ हजार १० घटना भएका छन्। यसैगरी हावाहुरी, भारी वर्षा, बाढी र चट्याङका कारण पनि ठूलो संख्यामा घटना भएका छन्।

 

प्राधिकरणको विवरणअनुसार हावाहुरीका ४८०, भारी वर्षाका ३२०, बाढीका २७३ र चट्याङका २४५ घटना भएका छन्। जनावरको आक्रमणबाट २७२ तथा वन डढेलोबाट १९१ घटना भएका छन्।

 

भदौ ५ गते बिहानसम्मको विवरणमा हिमपहिरो, भूकम्प, असिना, डुङ्गा पल्टिने तथा विस्फोटनजस्ता अन्य प्रकृतिका विपद्का घटनासमेत अभिलेख भएका छन्।

 

पछिल्लो एक दिनमा मात्रै ३३ विपद्का घटना भएका छन्। भदौ ४ देखि ५ गते बिहान ८ बजेसम्म भएका ती घटनामा एक जनाको मृत्यु, एक जना बेपत्ता र २३ जना घाइते भएका छन्। घटनाबाट १४५ जना प्रभावित भएका छन् भने करिब ९ लाख ७२ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

 

विपद्का कारण दुई स्थानमा सडकसमेत अवरुद्ध भएको प्राधिकरणले जनाएको छ। पछिल्लो तथ्याङ्कले प्राकृतिक तथा गैरप्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सावधानीलाई थप प्रभावकारी बनाउनुपर्ने देखाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय