काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती क्षेत्रबाट घरायसी प्रयोजनका सामान ल्याउने सर्वसाधारणलाई अनावश्यक दुःख नदिन सरकार स्पष्ट रहेको बताएका छन्। तर, संगठित तस्करी र राजस्व चुहावटमा संलग्नविरुद्ध भने कडा रूपमा प्रस्तुत हुने उनले बताए।

 

बिहीबार रास्वपा मुख्यालय वनस्थलीमा आयोजित ‘नागरिक, नीति र नेतृत्व’ अन्तर्क्रियामा बोल्दै वाग्लेले सीमामा खटिएका सुरक्षाकर्मीलाई सर्वसाधारण र तस्करीमा संलग्न व्यक्तिबीच स्पष्ट फरक छुट्याएर व्यवहार गर्न निर्देशन दिइएको जानकारी दिए।

 

उनका अनुसार विदेशबाट सामान ल्याउँदा कर लाग्ने व्यवस्था लामो समयदेखि कायम थियो। एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान्य घरायसी सामानमा समेत कर लाग्ने व्यवस्था व्यवहारिक नभएकाले सरकारले कर छुटको सीमा बढाएर पाँच सय रुपैयाँ पुर्‍याएको उनले बताए।

 

वाग्लेले उक्त सीमा अझ बढाउने विषयमा समेत छलफल भइरहेको जानकारी दिए। यद्यपि, सीमावर्ती व्यापार र स्वदेशी बजारमा पर्ने प्रभावलाई समेत ध्यान दिएर निर्णय गरिने उनको भनाइ छ।

 

सीमाबाट सामान ल्याउन कडाइ गरिएपछि नेपाली सीमावर्ती बजारमा व्यापार बढेको दाबी गर्दै उनले स्थानीय बजार चलायमान बनाउन र सर्वसाधारणको सहजतालाई सँगसँगै अघि बढाउनुपर्ने बताए।

 

अर्थमन्त्री वाग्लेले संगठित तस्करीका कारण राजस्व चुहावटसँगै आपराधिक गतिविधि बढ्न सक्ने भन्दै त्यस्ता गतिविधिमाथि सरकार कडा हुने स्पष्ट पारे।

 

‘आम नागरिकलाई दुःख नदिने र सानातिना विषयमा उदार हुने सरकारको नीति हो,’ उनले भने, ‘तर तस्करीमा संलग्नविरुद्ध भने हामी निर्मम हुन्छौँ।’

 

सीमासम्बन्धी समस्या समाधानका लागि नागरिकबाट सुझाव लिन सरकार तयार रहेको पनि वाग्लेले बताए। मधेसका समस्या र भन्सार प्रशासन सुधारका विषयमा सुझाव दिन आग्रह गर्दै उनले जनमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिइने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय