
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको आर्थिक रूपान्तरण र संरचनागत सुधारलाई गति दिन ‘नीतिगत आत्मविश्वास’ अपरिहार्य रहेको बताउनुभएको छ।
बुधबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलका क्रममा अर्थमन्त्री वाग्लेले उक्त कुरा व्यक्त गर्नुभएको हो।

छलफलका क्रममा निजी क्षेत्रको अपेक्षाबारे स्पष्ट पार्दै उहाँले भन्नुभयो, “निजी क्षेत्रले राज्यबाट केवल अनुदान र सहुलियत मात्र खोजेको छैन; उनीहरू स्पष्ट नीति, स्थिर नियम, द्रुत निर्णय प्रक्रिया र भरपर्दो कार्यान्वयन चाहन्छन्।” उहाँका अनुसार सरकारका सोच, प्राथमिकता र कार्यसम्पादन सबै एउटै लक्ष्यतर्फ लक्षित हुनुपर्छ।
गत एक दशकको आर्थिक परिदृश्यको समीक्षा गर्दै अर्थमन्त्रीले नीतिगत तहमा धेरै निर्णयहरू भए पनि कार्यान्वयनको पाटोमा अपेक्षाकृत नतिजा आउन नसकेको स्वीकार गर्नुभयो। कागजी निर्णय र व्यावहारिक परिणामबीचको यो अन्तर हुनुका वास्तविक कारणहरू पहिल्याएर तत्काल सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।




