
जनकपुरधाम । सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा सुरक्षित सडक संस्कृतिको विकास गर्ने उद्देश्यले मधेश प्रदेशका आठवटै जिल्लामा आइतबारदेखि ट्राफिक जनचेतनामूलक सप्ताह–२०८३ एकसाथ शुभारम्भ गरिएको छ।
सप्ताहव्यापी अभियानको पहिलो दिन प्लेकार्ड, ब्यानर तथा सांस्कृतिक झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरी सर्वसाधारणमा सडक सुरक्षा सम्बन्धी सन्देश प्रवाह गरिएको मधेश प्रदेश ट्राफिक प्रहरीले जनाएको छ। कार्यक्रममार्फत चालक, यात्रु तथा पैदलयात्रीहरूसँग प्रत्यक्ष संवाद गरी ट्राफिक नियमको पालना, जिम्मेवार सडक प्रयोग र दुर्घटना न्यूनीकरणका उपायबारे सचेतना फैलाइएको छ।

ट्राफिक प्रहरीका अनुसार सडकमा हुने अधिकांश दुर्घटना केही क्षणको लापरबाही र असावधानीका कारण हुने भएकाले सुरक्षित सडक निर्माणका लागि कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनसँगै जनचेतनाको विस्तार आवश्यक रहेको छ।
अभियानअन्तर्गत विभिन्न विद्यालय, सार्वजनिक स्थल, यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई लक्षित गरी सडक सुरक्षा सम्बन्धी विविध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
मधेश प्रदेश ट्राफिक प्रहरीले यो अभियान केवल एक साताको कार्यक्रम मात्र नभई जिम्मेवार चालक, सचेत नागरिक र दुर्घटनारहित मधेश निर्माणको साझा प्रयास भएको उल्लेख गरेको छ।
प्रहरीले पैदलयात्रीलाई सम्मान गर्न, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग गर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा सुरक्षित यात्रा गरी सुरक्षित घर फर्कन सबैमा आग्रह गरेको छ।
“एक जनाको सचेतनाले एउटा जीवन बचाउन सक्छ, हजारौंको सचेतनाले सुरक्षित मधेश निर्माण गर्न सक्छ,” भन्ने सन्देशका साथ सप्ताहव्यापी अभियान सञ्चालन गरिएको छ।



