वीरगञ्ज । प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेन्द्र श्रेष्ठले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साको प्रमुखको रूपमा आफ्नो जिम्मेवारी सम्हाल्नुभएको छ।

हालै सरुवा भई पर्सा आइपुग्नुभएका इन्स्पेक्टर श्रेष्ठले आज औपचारिक रूपमा कार्यभार ग्रहण गर्दै जिल्लाको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, व्यवस्थित र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

कार्यभार सम्हाल्ने क्रममा उहाँले पर्सा जिल्लाका राजमार्ग तथा भित्री सडकहरूमा हुने सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै व्यापक ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। विशेष गरी चालक, सहचालक, विद्यार्थी तथा सर्वसाधारणलाई लक्षित गरी जनचेतनामूलक अभियान सञ्चालन गरिने उहाँको भनाइ छ।

त्यसैगरी, वीरगञ्ज महानगरसहित मुख्य बजार क्षेत्रहरूमा बढ्दो सवारी चाप र ट्राफिक जाम व्यवस्थापनका लागि आवश्यक योजना बनाएर कार्यान्वयन गरिने उहाँले जानकारी दिनुभयो। ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि निगरानी बढाइने तथा तीव्र गति, ओभरलोड र मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेहरूविरुद्ध कडा कारबाही गरिने पनि उहाँले स्पष्ट पार्नुभयो।

नवनियुक्त ट्राफिक प्रमुख श्रेष्ठको आगमनसँगै पर्सा जिल्लाको ट्राफिक व्यवस्थापन थप चुस्त, प्रभावकारी र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ। उहाँको सफल कार्यकाल तथा जिम्मेवारी निर्वाहका लागि शुभकामना व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय