
सुरक्षा सरोकार – दिपक राज जोशी । जिल्ला प्रहरी कार्यालय सुर्खेतले फैसला कार्यान्वयन अभियानअन्तर्गत २०८३ साल जेठ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै फरार प्रतिवादी पक्राउ तथा अदालतका फैसला कार्यान्वयनमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ।
प्रहरीका अनुसार जेठ महिनाभर सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका ३९ जना फरार प्रतिवादी पक्राउ परेका छन्। अदालतबाट फैसला भइसकेपछि पनि लामो समयदेखि फरार रहेका उनीहरूलाई खोजतलास गरी पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पक्राउ परेका प्रतिवादीहरूबाट १० वर्ष १० महिना २८ दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको छ। साथै विभिन्न मुद्दामा अदालतले तोकेको ३३ लाख ८० हजार ८० रुपैयाँ जरिवाना समेत असुल गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ठाकुर पोखरेलले अदालतका फैसला कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाइएको बताउँदै फरार प्रतिवादीविरुद्धको अभियानलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “अपराध लुक्दैन, कानुनबाट उम्किँदैन भन्ने सन्देशसहित फरार प्रतिवादी खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिएका छौं। अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै न्यायिक प्रक्रियालाई थप मजबुत बनाउने हाम्रो लक्ष्य हो।”
प्रहरीले अदालतका फैसला कार्यान्वयनलाई केवल कानुनी प्रक्रिया मात्र नभई कानुनको शासन स्थापित गर्ने महत्वपूर्ण आधारका रूपमा लिएको जनाएको छ। फरार प्रतिवादी पक्राउ अभियानले अपराध नियन्त्रण, न्याय सम्पादन तथा समाजमा कानुनप्रतिको विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको प्रहरीको भनाइ छ।
प्रहरीले नागरिकलाई कुनै पनि आपराधिक गतिविधि, फरार प्रतिवादी वा शंकास्पद गतिविधिबारे जानकारी भए तत्काल प्रहरीलाई सूचना दिन आग्रह गरेको छ। नेपाल प्रहरी मोबाइल एप, प्रहरी कन्ट्रोल नम्बर १००, ट्राफिक प्रहरी १०३ तथा प्रहरी गुनासो नम्बर १११३ मार्फत सूचना दिन सकिने जनाएको छ।
समुदायको सहयोग र प्रहरीको सक्रियताका कारण फैसला कार्यान्वयन अभियान प्रभावकारी बन्दै गएको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले आगामी दिनमा पनि फरार प्रतिवादीविरुद्धको अभियानलाई अझ सशक्त रूपमा सञ्चालन गर्ने जनाएको छ।



