
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाह अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारीमा जुटेका छन्।
मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग आबद्ध भएपछि उनको सचिवालयमा रहेका र उनीसँग नजिक रहेका केही व्यक्तिहरू पनि सोही दलबाट आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको बताइन्छ। भूपदेव शाहले सुरुवाती चरणमा काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए। तर मेयर शाहले काठमाडौंका निर्वाचन क्षेत्र स्थानीय व्यक्तिहरूका लागि खुला राख्न सुझाव दिएपछि भूपदेवले आफ्नो गृह क्षेत्र अछामबाट उम्मेदवारी दिने निर्णयतर्फ कदम बढाएका हुन्।

अछाम–२ को चुनावी इतिहास हेर्दा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका पुष्पबहादुर शाह विजयी भएका थिए। यसअघि २०७४ र २०७० को निर्वाचनमा क्रमशः नेकपा एमालेका यज्ञबहादुर बोगटी र भरत साउँद निर्वाचित भएका थिए भने २०६४ सालको निर्वाचनमा माओवादीका शरतसिंह भण्डारी विजयी भएका थिए।
हाल अछाम–२ अन्तर्गत रहेका पाँच स्थानीय तहमध्ये तीनवटामा नेपाली कांग्रेस र दुईवटामा नेकपा एमालेको नेतृत्व रहेको छ।
स्थानीय स्तरमा भूपदेव शाह युवामाझ लोकप्रिय रहेको र नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा हेरिएको छ। यस्ता युवा र सक्रिय उम्मेदवार चुनावी मैदानमा उत्रिएमा जितको सम्भावना बलियो हुने अछामका बौद्धिक वर्गको भनाइ छ।



