
काठमाडौं। सुरक्षा सरोकार — नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना दिँदै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडिओ पछिल्लो समय चर्चाको विषय बनेको छ। उक्त भिडिओ नेपाल प्रहरीको आधिकारिक फेसबुक, इन्स्टाग्राम, एक्स टिकटक जस्ता प्लेटफर्महरूमा पोस्ट गरिएको थियो।
आईजीपी थापाले भिडियोमा सम्पूर्ण नेपाली जनतालाई नयाँ वर्षको शुभकामना दिँदै, अपराधसम्बन्धी सूचना छिटो प्रहरीलाई उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेका थिए। भिडिओले सामाजिक सञ्जालमा व्यापक इङ्गेजमेन्ट बटुल्दै चर्चा कमाएको छ।

फेसबुकमा भिडिओले १३ लाख प्लस भ्युज, ६० हजारभन्दा बढी रियाक्सन, र ११ हजारभन्दा बढी कमेन्ट प्राप्त गरिसकेको छ। टिकटकमा ३७ हजारभन्दा बढी लाइक र तीन हजारभन्दा बढी कमेन्ट देखिएका छन्। यद्यपि, तीमध्ये धेरै कमेन्टहरूमा प्रहरीप्रति आक्रोशपूर्ण र अपाच्य शब्द प्रयोग गरिएको देखिन्छ।यो त एक उदाहरण मात्र हो यस्ता घटना थुप्रै छन्।
पछिल्लो घटनाक्रम र नकारात्मक धारणा—
१५ चैतमा राजावादी आन्दोलनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको घटनाले जनमानसमा प्रहरीप्रति असन्तुष्टि बढाएको देखिन्छ। आन्दोलनमा अश्रुग्यास प्रयोग गरिएको भन्दै प्रहरीले कार्यक्रम बिथोलेको आरोप लगाइएको थियो। प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले पत्रकार सम्मेलनमार्फत आन्दोलनकारीहरू आक्रामक भएपछि अश्रुग्यास प्रहार गरिएको, राष्ट्रगान बजिरहेको बेलाको भिडिओ ‘डिपफेक’ नभएर संयोगवश भएको दाबी गरेका थिए। तर, सामाजिक सञ्जालमा यसबारे बहस रोकिएको छैन। आईजीपी थापाको भिडिओमा आएका थुप्रै कमेन्टहरू व्यङ्ग्य, गाली र असभ्य भाषा प्रयोगयुक्त छन्।
नेपाल प्रहरीका केन्द्रिय प्रवक्त्ता डिआईजी दिनेश आचार्य भन्नु हुन्छ –“प्रहरी संस्थाको गरिमा र कानूनी प्रक्रिया कायम राख्न हामी प्रतिबद्ध छौं। अभद्र व्यवहार वा गालीगलौज कानुनविपरीत हो, यस्ता गतिविधि गर्नेहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।”
पछिल्लो समय नियोजित ढंगबाट प्रहरीले गरेका सकारात्मक कार्यहरूलाई तोडमोड गर्दै बदनाम गराउने उद्देश्यले केही व्यक्तिहरूले निरन्तर रूपमा अपाच्य भाषा र अमर्यादित टिप्पणी प्रयोग गरिरहेका छन्। साथै, केही व्यक्तिहरूले नियोजित रूपमा प्रहरी संगठनविरुद्ध अभियान चलाउँदै सामाजिक सञ्जालमा गालीगलौज गरिरहेका छन्।
यस सन्दर्भमा , साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीको धारणा बुझ्दा : “नेपाल प्रहरी मात्र नभई , जुन सुकै व्यक्ति वा संगठनलाई लक्षित गरी अपाच्य भाषा र अमर्यादित टिप्पणी गर्नु नेपालको प्रचलित कानून अनुसार अपराध हो । उहाले भन्नु भयो, सामाजिक सञ्जालमा रहेको Anonymity को गलत प्रयोग गरी यस्ता गतिविधि बढी रहेको छ तर यो गलत प्रवृति हो ।”
किन आउँछ नेपाल प्रहरीमाथि गाली–गलौज?
नेपाल प्रहरी शान्ति, सुरक्षा र कानुनी कार्यान्वयनको मुख्य अङ्ग हो। तर पछिल्लो समय प्रहरीमाथि सामाजिक सञ्जालदेखि आम जनमानसमा बढ्दो आलोचना, व्यङ्ग्य र गाली–गलौज देखिएको छ। यसका पछाडि निम्न कारणहरू रहेका हुन सक्छन् ।
१. राजनीतिक प्रभाव र पक्षपाती व्यवहारको आरोप
प्रहरी सबै नागरिकसँग समान व्यवहार गर्नुपर्ने भए पनि कतिपय अवस्थामा राजनीतिक हस्तक्षेप हुने, सत्तारूढ पक्षलाई जोगाउने, र विरोध प्रदर्शनमा असन्तुलित बल प्रयोग हुने आरोप लाग्दै आएको छ। यसले प्रहरीप्रति जनआक्रोश निम्त्याउँछ।
२. मानव अधिकार उल्लंघन र बल प्रयोग
प्रदर्शनहरूमा अश्रुग्यास, लाठीचार्ज लगायतका बल प्रयोगले आम नागरिकमा प्रहरीप्रतिको असन्तुष्टि बढाउँछ। यस्ता घटनाले प्रहरीको छविमा गहिरो असर पार्छ।
३. भित्रको भ्रष्टाचार र अनुशासनहीनता
केही प्रहरी कर्मचारीले अनैतिक कार्य, घूस माग्ने, धम्क्याउने, वा कानुनी प्रक्रिया दुरुपयोग गर्ने जस्ता गतिविधिमा संलग्न रहेको समाचारले सम्पूर्ण संस्थामाथि प्रश्न उठाउँछ।
४. डिजिटल युग र खुला अभिव्यक्ति
सामाजिक सञ्जालले सबैलाई अभिव्यक्तिको स्वतन्त्रता दिएको छ। प्रहरीप्रति असन्तुष्टि भएका व्यक्तिहरू सिधै गालीगलौज गरेर आफ्नो भावना सार्वजनिक गर्छन्। यद्यपि, स्वस्थ आलोचनाको सट्टा अपाच्य भाषाको प्रयोगले समस्या झन जटिल बनाएको छ।
५. प्रहरी–जनता सम्बन्धको दूरी
जनताको समस्यामा प्रहरीले सहानुभूति र सेवा दिने शैली नअपनाउँदा प्रहरीप्रतिको विश्वास खस्किन्छ। संवाद र समन्वयको अभावले जनआक्रोश बढ्छ।
प्रहरीमाथिको आलोचना र गालीगलौज समाजको असन्तुष्टि र केहि प्रहरीको कार्यप्रतिको अविश्वासको प्रतिबिम्ब हो। प्रहरी सङ्गठनले पारदर्शिता, जनउत्तरदायित्व, र निष्पक्ष व्यवहार अपनाएर मात्र समाजको विश्वास पुनःआर्जन गर्न सक्छ। आलोचनालाई आत्मसमीक्षा र सुधारको अवसरका रूपमा लिने हो भने प्रहरीप्रतिको धारणा सकारात्मक बनाउन सकिन्छ।



