
काठमाडौं, साउन १८ — नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा देशभर सञ्चालन गरेको लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ३ हजार ३ सय १६ जना लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन गरिएका विशेष अपरेशन, नियमित निगरानी तथा सूचनाका आधारमा गरिएको कारबाहीबाट उक्त संख्यामा पक्राउ परेका हुन्।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशबाट सबैभन्दा बढी ७ सय १३ जना पक्राउ परेका छन्। त्यसपछि उपत्यकाबाट ५ सय ११ जना, लुम्बिनी प्रदेशबाट ५ सय ११ जना, सुदूरपश्चिम प्रदेशबाट ४ सय ५७ जना, बागमती प्रदेशबाट ४ सय २८ जना, मधेश प्रदेशबाट २ सय ५५ जना, गण्डकी प्रदेशबाट १ सय ८९ जना, लागूऔषध नियन्त्रण ब्यूरोबाट १ सय ३१ जना तथा कर्णाली प्रदेशबाट १ सय २१ जना पक्राउ परेका छन्।
कारबाहीका क्रममा प्रहरीले ठूलो परिमाणमा विभिन्न किसिमका लागूऔषधसमेत बरामद गरेको छ। प्रहरीका अनुसार ८ हजार ६ सय ३२ किलो ६ सय ८३ ग्राम ६ सय ९१ मिलिग्राम गाँजा, ३१ किलो १ सय ६८ ग्राम ६ सय ७१ मिलिग्राम चरेस, ५ किलो ७ सय ९२ ग्राम १ सय २० मिलिग्राम कोकिन, ११ किलो ८ सय ९४ ग्राम १ सय ६५ मिलिग्राम हेरोइन, १ सय २७ किलो १ सय ६० ग्राम १ सय ३७ मिलिग्राम अफिम तथा २१ किलो ६ सय ४६ ग्राम पोलेन बरामद गरिएको छ।
त्यसैगरी नियन्त्रित औषधितर्फ ट्रामाडोल ९ लाख ७६ हजार ६ सय २६ ट्याब्लेट, नाइट्राभेट १९ हजार १ सय १० ट्याब्लेट, स्पास्मो ३३ हजार ३ सय ९ ट्याब्लेट, डाईजेपाम ९ हजार ५ सय ५३ एम्पुल, फेनारगन १६ हजार ६ सय ५४ एम्पुल र बुप्रेनोर्फिन ८ हजार १ सय ३० एम्पुल बरामद भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
नेपाल प्रहरीले लागूऔषध उत्पादन, ओसारपसार, बिक्री–वितरण तथा प्रयोगमा संलग्न व्यक्तिहरूमाथि शून्य सहनशीलताको नीति अपनाउँदै देशव्यापी रूपमा निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ। लागूऔषध कारोबारलाई संगठित अपराधका रूपमा लिएर सबै प्रहरी इकाइलाई यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने कार्यलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिइएको प्रहरीको भनाइ छ।
प्रहरीले कारबाहीसँगै समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत विद्यालय, समुदाय र स्थानीय तहसँग समन्वय गरी लागूऔषध दुव्र्यसन तथा यसको सामाजिक, आर्थिक र स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावबारे जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ।
नेपाल प्रहरीका अनुसार लागूऔषध नियन्त्रण केवल प्रहरीको जिम्मेवारी मात्र नभई परिवार, विद्यालय, स्थानीय समुदाय र सरोकारवाला निकायहरूको साझा दायित्व भएकाले यसविरुद्धको अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको छ। प्रहरीले लागूऔषध सम्बन्धी सूचना भए नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराई समाजलाई लागूऔषधमुक्त बनाउन सहयोग गर्न पनि सर्वसाधारणसँग आग्रह गरेको छ।




