
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा चल्दाचल्दै प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुलकुमार मिश्र र बाराको लिपनीमाल स्थायी घर भई हाल वीरगञ्ज–२१ बस्ने ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन्। सीआईबीको टोलीले मिश्रलाई आइतबार काठमाडौँको ताहाचलबाट र हाकिमलाई सोमबार वीरगञ्ज–८ बाट नियन्त्रणमा लिएको हो।

उनीहरूमाथि शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटना विवरण:
यही साउन ८ गते सञ्चालन भएको एमबीएस (MBS) प्रथम सेमेस्टरको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र बाहिरिएको थियो। प्रहरी अनुसन्धानका अनुसार ‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप ग्रुपमार्फत परीक्षा सुरु भएको पाँच मिनेटभित्रै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको पाइएको छ।
घटनाबारे सीआईबीले थप अनुसन्धान जारी राखेको छ।




