
अछाम । सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहसँगै गएका पत्रकार दिनेश सिटौला अचानक बेहोश भएपछि उपचारका लागि काठमाडौं पठाइएको छ।
बालेन साहको टोली अछामको मंगलसेनतर्फ जाँदै गर्दा आज बिहान करिब ९ः३० बजे बाटोमा चिया खान गाडी रोकिएको थियो। सो स्थान अछामका रास्वपा उम्मेदवार भूपदेव शाहको घर नजिकै रहेको बताइएको छ। गाडीबाट ओर्लिन लाग्दा सिटौला अचानक बेहोश भई ढलेपछि उनलाई तत्काल अछाम जिल्ला अस्पताल लगिएको थियो।

अस्पतालका चिकित्सकहरूले अवस्था गम्भीर रहेको जनाउँदै थप उपचारका लागि काठमाडौं लैजान सिफारिस गरेपछि सिटौलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पुर्याइएको थियो। त्यसपछि सुर्खेतबाट सेनाको जहाजमार्फत उनलाई काठमाडौं ल्याइएको हो।



