
काठमाण्डौं— सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखज्यूले जिल्ला प्रहरी कार्यालय, बैतडीको निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
निरीक्षणको क्रममा उहाँले कार्यालयको समग्र कार्यप्रणाली, सेवा प्रवाह, जनसुरक्षा व्यवस्थापन तथा प्रहरी कर्मचारीहरूको कार्यसम्पादन अवस्थाको प्रत्यक्ष अवलोकन गर्नुभयो। साथै, उपस्थित प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया गर्दै उनीहरूले सामना गरिरहेका समस्या, चुनौती र आवश्यकताहरूका बारेमा जानकारी लिनुभयो।

प्रदेश प्रहरी प्रमुखज्यूले सुदूरपश्चिम प्रदेशको जिम्मेवारी सम्हालेपछि आन्दोलनपछिको संवेदनशील सुरक्षा अवस्थालाई ध्यानमा राख्दै प्रदेशभरका विभिन्न जिल्ला प्रहरी कार्यालयहरूको स्थलगत निरीक्षण तथा अनुगमन गर्दै आउनुभएको छ।
उहाँको निरीक्षण अभियानका प्रमुख उद्देश्यहरू निम्न रहेका छन्:
• प्रदेशको समग्र सुरक्षा अवस्थाको यथार्थ मूल्याङ्कन
• प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धि
• लागुऔषध कारोबार तथा संगठित अपराध नियन्त्रण
• नागरिकमैत्री प्रहरी सेवा प्रवाहको प्रवर्द्धन
• प्रहरी संगठनभित्र समन्वय, अनुशासन र उत्तरदायित्व सुदृढीकरण
यसअघि प्रमुखज्यूले जेन–जी आन्दोलन प्रभावित जिल्ला प्रहरी कार्यालयहरू—बाजुरा, अछाम, डोटी, बझाङ—सहित सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रको पनि निरीक्षण सम्पन्न गरिसक्नुभएको थियो।
त्यसै क्रममा आज बैतडी जिल्ला प्रहरी कार्यालयको निरीक्षण तथा अनुगमन सम्पन्न गरिएको हो।
उक्त निरीक्षणले प्रदेश प्रहरी नेतृत्व र मातहत इकाइहरूबीच प्रत्यक्ष संवाद, विश्वास र सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।




