इलाम । इलाममा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। प्रहरीले इलाम नगरपालिका–९ भञ्ज्याङस्थित मेची राजमार्गबाट १ हजार ५०४ किलो ६१० ग्राम गाँजा बरामद गरेको हो।

बुधबार साँझ करिब ६ः३५ बजे प्रहरी चौकी गोलाखर्कबाट प्रहरी सहायक निरीक्षक उत्तम भुजेलको कमाण्डमा खटिएको चेकिङ टोलीले ना.४ ख ८९९६ नम्बरको फुलबडी ट्रकलाई शंकास्पद अवस्थामा रोकेको थियो।

राजदुवाली सडकको अवस्थाका कारण ठूला सवारीलाई केचना–कञ्चनजङ्घा सडकखण्डतर्फ डाइभर्सन गरिएको अवस्थामा उक्त ट्रक भने जबर्जस्ती राजदुवालीतर्फ अघि बढेको प्रहरीले जनाएको छ। प्रहरीले ट्रक रोकेर चालकलाई सम्झाउने क्रममा चालकले ट्रक स्टार्ट अवस्थामै छाडेर फरार भएका थिए।

त्यसपछि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक देवीदत्त मोतेको कमाण्डमा थप प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले ट्रकमा शंका लागेर चेकजाँच गर्दा फल्स बटम बनाई त्रिपालले छोपेर बोरामा गाँजा लुकाइएको अवस्थामा फेला पारेको हो।

प्रहरीका अनुसार ट्रकबाट ४१ बोरामा राखिएको कुल १ हजार ५०४ किलो ६१० ग्राम गाँजा बरामद भएको छ।

बरामद गाँजासहित ट्रकलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइएको छ। फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय