सुर्खेत । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी स्थानीय तहसम्म पुगेसँगै सुर्खेतको चौकुने गाउँपालिकामा नेतृत्वको चर्चा सुरु भएको छ। यही क्रममा गाउँपालिका–२ लगामका हरिचन्द्र भण्डारीले सभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।

भण्डारीले सामाजिक सञ्जालमार्फत आगामी अधिवेशनमा गाउँपालिका सभापतिका लागि प्रतिस्पर्धा गर्ने जानकारी दिएका हुन्। लामो समयदेखि पार्टीका विभिन्न तहमा सक्रिय रहँदै आएका उनले अब संगठनको नेतृत्वमा नयाँ पुस्ताको उपस्थितिलाई प्राथमिकता दिनुपर्ने धारणा अघि सारेका छन्।

उनको उम्मेदवारी घोषणासँगै चौकुने कांग्रेसभित्र नेतृत्व कसरी अघि बढाउने भन्ने विषयमा समेत छलफल सुरु भएको छ। विशेषगरी युवालाई जिम्मेवारी दिने र अनुभवी पुस्ताको अनुभवलाई संगठनमा उपयोग गर्ने विषय स्थानीय नेताकार्यकर्ताबीच चर्चामा आएको छ।

भण्डारीले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पदको आकांक्षाभन्दा संगठन निर्माणसँग जोडेर प्रस्तुत गरेका छन्। उनका अनुसार चौकुनेका सबै वडामा पार्टी गतिविधिलाई नियमित बनाउने, टोल तहसम्म संगठन विस्तार गर्ने र कार्यकर्तालाई पार्टीको गतिविधिसँग जोडिराख्ने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ।

‘पार्टीको संगठनलाई समयअनुसार अघि बढाउन नयाँ पुस्ताको सहभागिता आवश्यक छ,’ भण्डारीले भने, ‘युवाको ऊर्जा र अनुभवी नेताहरूको अनुभवलाई एकै ठाउँमा जोडेर संगठनलाई बलियो बनाउने मेरो प्रयास हुनेछ।’

स्थानीय मुद्दालाई पार्टीको राजनीतिक गतिविधिसँग जोड्नुपर्नेमा पनि उनले जोड दिएका छन्। शिक्षा, स्वास्थ्य, सडक, कृषि, रोजगारी तथा युवाका लागि अवसर सिर्जना गर्ने विषयलाई स्थानीय राजनीतिको प्राथमिकतामा राखिनुपर्ने उनको भनाइ छ।

भौगोलिक कठिनाइका कारण चौकुनेका कतिपय क्षेत्रमा नागरिकले अझै आधारभूत सेवा तथा पूर्वाधारका समस्या झेलिरहेको उल्लेख गर्दै भण्डारीले जनताको दैनिक सरोकारसँग जोडिएर पार्टीले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने बताए।

उनले पार्टीभित्र गुटगत दूरी घटाउँदै फरक पुस्ता र विचारबीच सहकार्यको वातावरण बनाउने विषयलाई पनि आफ्नो प्राथमिकतामा राखेका छन्।

भण्डारीको उम्मेदवारीसँगै चौकुने कांग्रेसको आगामी नेतृत्वलाई लिएर स्थानीय तहमा चासो बढेको छ। यद्यपि सभापतिसहितका पदमा कसको पक्षमा कस्तो समर्थन रहने भन्ने विषय अधिवेशनको निर्वाचन प्रक्रियासँगै स्पष्ट हुँदै जानेछ।

कांग्रेसको १५औँ महाधिवेशनका क्रममा वडा हुँदै पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रसम्म नेतृत्व चयन हुँदैछ। यही प्रक्रियाको स्थानीय अभ्यासका रूपमा चौकुनेमा देखिएको युवा पुस्ताको दाबीलाई समेत हेरिएको छ।

भण्डारीले स्थानीय निकायको समयदेखि स्थानीय तहसम्म कांग्रेसका विभिन्न संगठनात्मक संरचनामा रहेर काम गर्दै आएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय