काठमाडौं । सामाजिक सञ्जालमा लोकप्रिय भइरहेको ‘कता-कता मिलाए जस्तो नि गर्छ’ शैलीलाई प्रयोग गर्दै नेपाल प्रहरीले साइबर सुरक्षासम्बन्धी सचेतनामूलक सन्देश सार्वजनिक गरेको छ।

अनलाइन ठगीका घटनाबाट सर्वसाधारणलाई जोगाउने उद्देश्यले प्रहरीले पछिल्लो समय चर्चामा रहेको डिजिटल ट्रेन्डलाई नै जनचेतनाको माध्यम बनाएको हो। नेपाल प्रहरीले चर्चित हास्य टेलिशृंखला ‘हरिबहादुर–मदनबहादुर’का पात्र ‘हरिबहादुर’को क्यारिकेचर समेटिएको पोस्टरमार्फत शङ्कास्पद लिंकबाट सावधान रहन आग्रह गरेको छ।

पोस्टरमा ‘कता कता स्क्याम गर्न खोजे जस्तो नि गर्छ फेरि’ भन्ने सन्देश राखिएको छ। साथै, डिजिटल भुक्तानी प्रणाली ‘कनेक्ट आईपीएस’को नाम दुरुपयोग गरी भइरहेको फिसिङ ठगीको नमुना स्क्रिनसटसमेत समावेश गरिएको छ।

प्रहरीका अनुसार ठगीमा संलग्न व्यक्तिहरूले ‘तपाईंको खाता बन्द हुन लागेको छ’ भन्दै कनेक्ट आईपीएसको नामबाट नक्कली सन्देश पठाउने गरेका छन्। त्यसपछि खाता सञ्चालनमा ल्याइदिने बहानामा फिसिङ लिंक पठाई प्रयोगकर्ताको युजरनेम, पासवर्ड तथा ओटीपीजस्ता गोप्य विवरण प्राप्त गरी बैंक खाताबाट रकम चोरी गर्ने प्रयास हुने गरेको छ।

प्रहरीले अपरिचित वा शङ्कास्पद लिंकमा क्लिक नगर्न, पासवर्ड तथा ओटीपीजस्ता संवेदनशील विवरण कसैलाई पनि नदिन र अनलाइन कारोबार गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

सामाजिक सञ्जालको लोकप्रिय ट्रेन्डलाई साइबर सुरक्षा सचेतनासँग जोडेर प्रहरीले सार्वजनिक गरेको पोस्टप्रति प्रयोगकर्ताहरूले पनि सकारात्मक प्रतिक्रिया जनाएका छन्। केहीले प्रहरीको पछिल्लो प्रस्तुतिलाई ‘जेन–जी शैली’को भन्दै प्रशंसा गरेका छन् भने केहीले नेपाल प्रहरीलाई ‘कन्टेन्ट क्रिएटर’को शैलीमा प्रस्तुत भएको भन्दै रमाइलो प्रतिक्रिया दिएका छन्।

पछिल्लो समय नेपाल प्रहरीले आफ्नो नियमित सूचना तथा जनचेतनामूलक अभियानलाई परम्परागत शैलीमा मात्र सीमित नराखी सामाजिक सञ्जालको बदलिँदो ट्रेन्ड र नयाँ पुस्ताको रुचिअनुसार प्रस्तुत गर्दै आएको छ। प्रहरीका विभिन्न गतिविधि, सुरक्षा सन्देश तथा जनचेतनामूलक सामग्रीलाई आकर्षक एडिटेड भिडियो, छोटा भिडियो, सिर्जनात्मक पोस्टर तथा ट्रेन्डिङ कन्टेन्टमार्फत प्रस्तुत गर्ने शैली बढ्दो क्रममा छ।

विशेषगरी सामाजिक सञ्जालमा लोकप्रिय भइरहेका शैली, संवाद र दृश्य प्रस्तुतिलाई सकारात्मक उद्देश्यका लागि प्रयोग गर्दै प्रहरीले साइबर सुरक्षा, ट्राफिक सचेतना, अपराध नियन्त्रण तथा नागरिक सुरक्षासँग सम्बन्धित सन्देश प्रवाह गरिरहेको छ। यसले गम्भीर विषयलाई पनि सर्वसाधारण, विशेषगरी युवा पुस्ताले सहज रूपमा बुझ्ने र रुचिपूर्वक हेर्ने वातावरण बनाएको देखिन्छ।

नेपाल प्रहरीको यस्तो समयअनुकूल, सिर्जनात्मक र सामाजिक सञ्जालमैत्री प्रस्तुति शैलीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले समेत सकारात्मक रूपमा लिएका छन्। प्रहरीका पछिल्ला भिडियो तथा पोस्टहरूमा प्रयोगकर्ताहरूले प्रशंसा गर्दै ‘नयाँ पुस्तासँग जोडिने शैली’, ‘कन्टेन्ट क्रिएटरजस्तो प्रस्तुति’ तथा ‘प्रहरीको बदलिँदो डिजिटल शैली’का रूपमा प्रतिक्रिया जनाउने गरेका छन्।

यसरी प्रविधि र सामाजिक सञ्जालको प्रभावलाई सकारात्मक रूपमा प्रयोग गर्दै नेपाल प्रहरीले सुरक्षा र जनचेतनाका सन्देशलाई नागरिकसम्म पुर्‍याउने नयाँ अभ्यासलाई निरन्तरता दिइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय