विराटनगर । अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेको गाँजा बरामद गाडीबाट प्रमाणका रूपमा रहेको स्टिकर हटाउन खोजेको आरोपमा विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति रोहित यादव पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यादव प्रहरी कार्यालय रानीको परिसरमा प्रवेश गरी नियन्त्रणमा राखिएको गाडीमा टाँसिएको अस्पतालको स्टिकर उप्काउँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।

प्रहरीले केही समयअघि ५० किलो २९० ग्राम गाँजासहित को १ च ६६२० नम्बरको मारुती भ्यान बरामद गरेको थियो। उक्त भ्यानमा ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको स्टिकर टाँसिएको थियो।

अनुसन्धानमा रहेको सवारीसाधनबाट स्टिकर हटाउन खोज्नुले प्रमाण नष्ट गर्ने तथा अनुसन्धान प्रभावित पार्ने प्रयास भएको प्रहरीको आरोप छ। गाँजा ओसारपसारमा प्रयोग भएको गाडीमा अस्पतालको स्टिकर प्रयोग गरी सुरक्षाकर्मीलाई झुक्याउन खोजिएको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ।

स्टिकर हटाउने प्रयासबारे अनुसन्धान अघि बढाउँदै प्रहरीले यादवलाई नियन्त्रणमा लिएको हो। उनलाई अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय