काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि एमभी दुगड ग्रुपले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।

भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराएको हो।

ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड र सञ्चालक शुभम दुगडले अर्थमन्त्रीसमक्ष सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। उक्त रकम ग्रुप तथा अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक योगदानसमेत समेटेर संकलन गरिएको जनाइएको छ।

विपद्का बेला पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु सामाजिक दायित्व भएको भन्दै ग्रुपले आफ्नो तर्फबाट सहयोग गरेको जनाएको छ।

एमभी दुगड ग्रुपले सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षणलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ। ग्रुपका अनुसार जलवायु परिवर्तन र बढ्दो प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि सन् २०७८ देखि देशका विभिन्न स्थानमा वृक्षरोपण अभियान सञ्चालन हुँदै आएको छ।

अभियानका क्रममा हालसम्म ३ लाखभन्दा बढी बिरुवा रोपिएको र राजमार्ग, विद्यालय, सरकारी कार्यालय तथा सुरक्षा निकायका परिसरमा समेत २५ हजारभन्दा बढी उन्नत जातका बिरुवा रोपेर संरक्षण गरिएको ग्रुपले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय