काठमाडौं । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोपमा नापी कार्यालय कलंकीका तत्कालीन दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीमा तत्कालीन सर्भेक्षक पदमा कार्यरत अमित कुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पार्धे विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ मा रहेको जग्गा हालसाबिक गरी प्लट मिलान गरिदिने भन्दै उनीहरूले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेका थिए।

अनुसन्धानका क्रममा जग्गा हालसाबिक तथा प्लट मिलानका लागि सहजीकरण गरिदिने भन्दै दुवै कर्मचारीले सेवाग्राहीसँग घुस रकमका लागि बार्गेनिङ गरेको र कानुनबमोजिम गर्नुपर्ने काम नगरी दुःख–हैरानी दिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

आयोगका अनुसार उनीहरूले आफूले प्रत्यक्ष रूपमा रकम नलिई कार्यालय सहयोगीमार्फत ५० हजार रुपैयाँ लिन मन्जुर गरेकोसमेत अनुसन्धानबाट खुलेको छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै अख्तियारले दुवै जनाविरुद्ध ५० हजार रुपैयाँ बिगो कायम गरेको छ।

आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐनबमोजिम कैद तथा बिगो बराबर जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय