वीरगन्ज — पर्सामा जिल्ला प्रहरी प्रमुख (एसपी) पवन भट्टराईले अवैध चोरी-तस्करी नियन्त्रणमा कडाइ गरिरहेका बेला मातहतको प्रहरी चौकी परवानीपुरमा भने प्रहरी अधिकारीकै आडमा अवैध असुली भइरहेको गम्भीर आरोप लागेको छ।

चौकीका प्रमुख प्रहरी नायब निरीक्षक (सई) मानबहादुर खड्काको प्रत्यक्ष निर्देशनमा प्रहरी सहायक हवल्दार सोपेन्द्र यादवलाई ‘घुमुवा’ का रूपमा परिचालन गरी सवारीसाधन, कलकारखाना, ट्रान्सपोर्ट व्यवसायी र तस्करहरूसँग महिनावारी असुल गर्ने गरिएको स्रोतको दाबी छ।

प्राप्त विवरणअनुसार, हवल्दार यादवले चेकजाँचका नाममा सवारीसाधन रोकेर प्रतिगाडी १०० देखि १,००० रुपैयाँसम्म असुल्ने गरेका छन्। त्यसैगरी, सीमावर्ती नाकाबाट अवैध रूपमा भित्राइएका सामान जितपुर हुँदै काठमाडौंसम्म लैजाने व्यापारी, कपडा, चिनी, चकलेट-बटरका कारोबारी तथा गोदाम सञ्चालकहरूसँग मासिक १० हजारदेखि ५० हजार रुपैयाँसम्म रकम उठाउने गरिएको बताइएको छ।

घुमुवाका रूपमा खटिएका यादवमाथि यसअघि पनि आर्थिक अनियमितता र अकुत सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आएको छ। प्रहरी चौकी परवानीपुरका सई खड्का र हवल्दार यादवको यस्तो भूमिकालाई लिएर स्थानीय र व्यवसायीहरूले निष्पक्ष छानबिनको माग गरेका छन्।

गलत काममा संलग्न आफ्नै मातहतका प्रहरी कर्मचारीलाई समेत कारबाही गर्न नहिचकिचाउने छवि बनाएका एसपी भट्टराईका लागि यो घटना अर्को परीक्षा बनेको छ। आरोपी सई र घुमुवामाथि जिल्ला प्रहरी कार्यालय पर्साले कस्तो कदम चाल्छ भन्ने विषय चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय