
वीरगंज — प्राकृतिक विपत्का कारण मुलुकभरका सुरक्षा निकाय उद्धार र राहतमा केन्द्रित भएका बेला बाराको सिम्रौनगढ नाकामा भने प्रहरीकै मिलोमतोमा व्यापक तस्करी भइरहेको समाचार प्राप्त भएको छ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्णदेव प्रसाद साहले तस्करहरूसँग सेटिङ गरी अवैध ओसारपसारलाई बढावा दिएको स्रोतको दाबी छ। साहले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओम प्रसाद अधिकारी र आफ्नो नाममा समेत मासिक लाखौँ रुपैयाँ असुली गरिरहेको आरोप लागेको छ।

स्थानीयका अनुसार प्रहरीले घरायसी प्रयोजनका लागि सामान ल्याउने सर्वसाधारणलाई सास्ती दिने गरे पनि ठूला तस्करहरूलाई भने राति ११ देखि बिहान ४ बजेसम्म निर्वाध सामान ओसार्न छुट दिएको छ। काचोर्वा, बसवरीया, पथलवाघाट, बेलदारी, सतुवाही र पिपरपाती लगायतका नाकाबाट कपडा, हार्डवेयर, कस्मेटिक, कुखुराका चल्ला र रजनीगन्धाको अवैध पैठारी भइरहेको छ। यस्तै नेपालतर्फबाट रक्सी, कबाड र लागुऔषध (गाँजा) भारततर्फ तस्करी भइरहेको बताइएको छ।
यसअघि घुमुवा प्रहरी हवलदार सुजित राउतलाई आर्थिक अनियमितताको आरोपमा हटाइए पनि प्रहरी निरीक्षक साहले तस्करहरूसँग आफैँ मोलमोलाइ गर्न उनलाई हटाएको स्रोतको भनाइ छ। साहले कार्यालयमै तस्करका नाइकेहरूलाई बोलाएर महिनावारी तोक्ने गरेको र प्रति तस्कर १० हजारदेखि ५० हजार रुपैयाँसम्म गरी मासिक लाखौँ रुपैयाँ असुली गर्ने गरेको आरोप छ।
मिडियामा पटक-पटक समाचार र भिडियो सार्वजनिक भए पनि साहले एक पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सॅगको आफ्नो पहुँच रहेको धाक लगाउँदै कारबाहीबाट जोगिँदै आएको दाबी गरिएको छ। प्रहरीकै संरक्षणमा आपराधिक गतिविधि र तस्करी बढेपछि स्थानीयवासीले प्रहरी प्रधान कार्यालय तथा गृहमन्त्रालयको ध्यानाकर्षण गराएका छन्।




