सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावितहरूका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ।

गाउँपालिका अध्यक्ष टासी लामाको अध्यक्षतामा २०८३ भदौ १५ गते बसेको गाउँ कार्यपालिकाको बैठकले बाढीपहिरो पीडितको राहत तथा पुनःस्थापनाका लागि विभिन्न निर्णय गरेको हो।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ। विपत्तिमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

गाउँपालिकाको आन्तरिक आय तथा स्रोतसाधन सीमित भए पनि मानवीय सहयोगलाई प्राथमिकता दिँदै गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिका तथा वडा कार्यालयका कर्मचारी, स्वास्थ्यकर्मी र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको सुरु तलब स्केल बराबर तीन दिनको रकम कट्टा गरी राहतमा योगदान गर्ने निर्णय गरिएको छ।

त्यसैगरी, गाउँपालिकाले थप आर्थिक सहयोगस्वरूप रसुवाका प्रभावित स्थानीय तहलाई १२ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। जसअनुसार मुख्य प्रभावित तथा सिमाना जोडिएको छिमेकी गोसाइँकुण्ड गाउँपालिकालाई ५ लाख, उत्तरगया गाउँपालिकालाई ५ लाख र आमाछोदिङ्मो गाउँपालिकालाई २ लाख रुपैयाँ प्रदान गरिनेछ।

उक्त रकम रसुवाका बाढीपहिरो प्रभावितको राहत तथा पुनःस्थापनामा तत्काल प्रयोग गर्ने गरी उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष टासी लामाले विपत्तिले भौतिक संरचना क्षति पुर्‍याउन सक्ने भए पनि मानवीय भावना र एकतालाई कमजोर बनाउन नसक्ने बताउनुभएको छ। उहाँले संकटको यस घडीमा सबै स्थानीय तह, संघसंस्था तथा नागरिकलाई एकजुट भएर पीडितको राहत तथा पुनःस्थापनामा जुट्न आह्वान गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय