
१० भदौ, काठमाडौं । रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा रहेका ३८४ जना आन्तरिक तथा विदेशी पर्यटक सम्पर्कविहीन भएको पर्यटन बोर्डले जनाएको छ।
नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सी, पर्यटक गाइड, स्थानीय तह तथा सुरक्षा निकायबाट प्राप्त विवरणका आधारमा झन्डै चार सय पर्यटक सम्पर्कविहीन रहेको जनाएको हो। सम्पर्कविहीनमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक रहेका छन्।

बोर्डका अनुसार सम्राट टुर्स एन्ड ट्राभल्समार्फत रसुवा पुगेका ७१ जना सम्पर्कविहीन छन्। उनीहरूमध्ये ५९ भारतीय र १२ नेपाली रहेका छन्। काठमाडौं होलिडेजमार्फत गएका १७ जना पनि सम्पर्कविहीन छन्।
त्यस्तै, लिफ होलिडेजका ५५ जना पर्यटकको सम्पर्क हुन सकेको छैन। तीमध्ये ४६ भारतीय र ९ नेपाली छन्। कैलास जर्नीबाट गएका ३१ जनामध्ये २६ विदेशी र ५ नेपाली रहेका छन्।
एक्स्प्लोर भ्याकेसनबाट गएका ७ नेपाली, ट्रेकर्स सोसाइटीका ९२ जना तथा रिचा टुर्स एन्ड ट्राभल्सका १२ जना पनि सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ। ट्रेकर्स सोसाइटीका सम्पर्कविहीनमध्ये ७७ विदेशी र १५ नेपाली छन् भने रिचा टुर्सका ८ विदेशी र ४ नेपाली रहेका छन्।
यसैगरी, फिस्टेल टुर्स एन्ड ट्राभल्सका २७ जना, हिमालयन ग्लेसियरका ५२ जना र अल्पाइन इको ट्रेकका २० जना सम्पर्कविहीन रहेको तथ्यांकमा उल्लेख छ। हिमालयन ग्लेसियरका ३७ विदेशी र १५ नेपाली तथा अल्पाइन इको ट्रेकका १६ विदेशी र ४ नेपाली पर्यटक रहेका छन्।
पर्यटकहरूको अवस्थाबारे सम्बन्धित ट्राभल एजेन्सी, स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी खोजी तथा आवश्यक उद्धार प्रयास भइरहेको जनाइएको छ।




