
७ भदौ, चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको मोटरसाइकल विपरीत दिशाबाट आएका ट्रक र कारसँग ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक भरतपुर–१३ का २१ वर्षीय सन्देश विष्ट गम्भीर घाइते भएका थिए।
घाइते विष्टको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार तनहुँको भानु नगरपालिका–७ का १९ वर्षीय पुकार श्रेष्ठ घाइते भएका छन् र उनको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि प्रहरीले घटनामा संलग्न सवारीसाधन तथा चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।




