६ भदौ, बुटवल । बाराको जीतपुरसिमरा–१ दसधुरेकी तीन वर्षीया गरिमा चौधरीको हत्या घटनामा संलग्नलाई कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै बुटवलमा महिला अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन्।

 

शनिबार गरिएको प्रदर्शनमा सहभागी महिलाहरूले बालिकामाथि भएको घटनाको विरोध गर्दै दोषीलाई कानुनअनुसार कडा सजाय दिन माग गरेका हुन्। प्रदर्शन ट्राफिकचोकबाट सुरु भई उच्च अदालत तुल्सीपुर, बुटवल इजलास हुँदै इलाका प्रहरी कार्यालय बुटवलसम्म पुगेको थियो।

 

इलाका प्रहरी कार्यालयको गेटबाहिर प्रदर्शनकारीहरूले नाराबाजी गर्दै घटनाको निष्पक्ष अनुसन्धान गरी गरिमाका परिवारलाई न्याय दिलाउन माग गरेका थिए। उनीहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न तथा यस्ता घटनामा संलग्नलाई उन्मुक्ति नदिन राज्यको ध्यानाकर्षण गराएका छन्।

 

गरिमा गत साउन ३१ गते बिहान घरबाट बेपत्ता भएकी थिइन्। उनको शव मंगलबार साँझ जीतपुरसिमरा–१ भक्तिनगरस्थित एक घरको खाली कोठामा फेला परेको प्रहरीले जनाएको छ।

 

 

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बालिका बेपत्ता भएपछि जीतपुरसिमरा–२ का १६ वर्षीय सुमन थापाले चकलेट दिएर फकाई घटनास्थलतर्फ लगेको खुलेको छ।

 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १६ वर्षीय थापा र ना.१ ज ७७५८ नम्बरको म्याजिकका धनी जीतपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ।

 

प्रहरीका अनुसार घटनाको कारण, अन्य व्यक्तिको संलग्नता तथा घटनासँग सम्बन्धित थप तथ्यबारे अनुसन्धान जारी छ। प्रदर्शनकारीहरूले अनुसन्धानलाई निष्पक्ष र प्रभावकारी बनाएर दोषी पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय