
धनगढी, ५ भदौ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले अत्तरियास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन्।
अनुगमनका क्रममा डीआईजी भट्टराईले कार्यालयका विभिन्न शाखा, शाखागत अभिलेख तथा कार्यालय भवनको निरीक्षण गर्दै कार्यालयबाट सम्पादन भइरहेका कार्यहरूको अवस्थाबारे जानकारी लिएका थिए।

निरीक्षणका क्रममा उनले ट्राफिक प्रहरीको कार्यसम्पादनलाई नागरिकमैत्री, प्रविधिमैत्री र सेवामुखी बनाउन निर्देशन दिए। ट्राफिक नियम तथा कानुनको प्रभावकारी कार्यान्वयनसँगै नागरिकको सुरक्षा र सहज आवागमनलाई प्राथमिकतामा राख्न उनले जोड दिए।
सडक दुर्घटना न्यूनीकरणका लागि नयाँ प्रविधिको प्रयोग, प्रभावकारी ट्राफिक व्यवस्थापन तथा सडकमा ट्राफिक प्रहरीको उपस्थिति थप व्यवस्थित बनाउनुपर्ने डीआईजी भट्टराईले बताए।
उनले सडकमा ट्राफिक प्रहरीको उपस्थिति जनताको सुरक्षा र सहज आवागमनका लागि भएको मूल मर्मलाई आत्मसात् गर्दै जिम्मेवारीप्रति संवेदनशील, उत्तरदायी र नागरिकमैत्री भएर कार्य गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए।
डीआईजी भट्टराईले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै नागरिकले सहज, सुरक्षित र भरपर्दो सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्न समेत निर्देशन दिएका छन्।




