
काभ्रेपलाञ्चोक — बाक्लो कुहिरोका कारण काभ्रेको खानीखोला-१, स्याउथलीमा भएको जिप दुर्घटनाका गम्भीर घाइतेहरूको उद्धार कार्य जटिल बनेको छ।
सोमबार बिहान ब्रेक फेल भई जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा खानीखोला-४ का कलकबहादुर माझी र खानीखोला-२ की पातलीमाया मोक्तान रहेका छन्। घाइतेहरूको पहिचान खुल्न बाँकी छ।
मौसमले रोक्यो उद्धारको प्रयास
घाइतेहरूको तत्काल उपचारका लागि हेलिकप्टरको व्यवस्था गरिए पनि दुर्घटनास्थल वरपर बाक्लो कुहिरो लागेका कारण अवतरण गर्न सम्भव भएको छैन। गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार उद्धारका लागि हेलिकप्टर तम्तयार अवस्थामा रहे तापनि खराब मौसमका कारण उडान र ल्यान्डिङमा कठिनाइ भइरहेको छ।
स्थानीय प्रशासनले वैकल्पिक स्थानबाट भए पनि उद्धार कार्य अघि बढाउने प्रयास गरिरहेको छ। काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार, “दुर्घटनास्थलमा कुहिरो नहटेपछि नजिकैको बेथानचोक-५ स्थित कामीडाँडाबाट हेलिकप्टरमार्फत घाइतेहरूलाई लैजाने प्रयास भइरहेको छ। अहिले नेपाली सेनाले त्यस क्षेत्रको वस्तुस्थिति र उडान सम्भावनाको अध्ययन गरिरहेको छ।”
प्रहरीको प्रारम्भिक अनुमान अनुसार गाडीको ब्रेक फेल भएका कारण उक्त दुर्घटना भएको हो। उद्धार टोली र स्थानीयवासी अहिले घाइतेहरूलाई सुरक्षित स्थानसम्म पुर्याउन खटिएका छन्।




