
३१ साउन, रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ। शनिबार राति आएको पहिरोमा परी स्थानीय ७२ वर्षीया अम्मी गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रहरीका अनुसार गुरुङ घरभित्र सुतिरहेको समयमा घरमाथिबाट अचानक पहिरो खसेर घर पुरिएको थियो। पहिरोमा पुरिएकी उनको शव टाउकोको भाग देखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनालगत्तै प्रहरी टोली र स्थानीयवासी घटनास्थलमा पुगेर उद्धार तथा खोजी कार्य अघि बढाएका थिए। पहिरोले पुरिएको घरबाट गुरुङको शव निकालेर आवश्यक प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेकाले स्थानीयवासीलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ।




