
काठमाडौं । काठमाडौंको लैनचौरस्थित गाउँबेशी थकाली भान्छाघरमा जुवा खेलिरहेको अवस्थामा नेपाल प्रहरीका एक सई (प्रहरी नायब निरीक्षक) सहित १६ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ। प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले साउन २६ गते मंगलबार बिहान उक्त भान्छाघरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले जुवाखालबाट १३ लाख १७ हजार १२५ रुपैयाँ नगदसमेत बरामद गरेको छ। पक्राउ पर्नेहरूमा नेपाल प्रहरीका सई सरोज गिरी र सोही भान्छाघरका सञ्चालक सुजन तामाङ मुख्य रहेका छन्।
त्यसैगरी, पक्राउ पर्ने अन्य जुवाडेहरूमा नुवाकोटका रमन लामा, नवीनकुमार लामा, सन्तोष डंगोल, मंगलबहादुर तामाङ र चिबहादुर लामा रहेका छन्। साथै, सिन्धुपाल्चोकका अमर तामाङ, सुमन गिरी र यस बहादुर तामाङ, काभ्रेका रेशम बहादुर घ्यावा र नवराज नेपाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। अन्य पक्राउ पर्नेहरूमा दोलखाकी हेमा गुरुङ, चितवनकी शान्ता लामा, झापाका टिकाराम बराल र ललितपुरका उमेश चौधरी रहेका छन्।
प्रहरी वृत्त दरबारमार्गले पक्राउ परेका सबै १६ जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान गरिरहेको जनाएको छ।




