
कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा बाढीले मोटरसाइकलसहित बगाएका एक युवकको प्रहरीले सकुशल उद्धार गरेको छ।
प्रहरीका अनुसार बर्दगोरिया गाउँपालिका–२ निवासी ३९ वर्षीय लौटन चौधरी शुक्रबार राति करिब ९:३० बजे घर फर्किने क्रममा खोलामा आएको बाढीमा मोटरसाइकलसहित बगेका थिए। घटना देखेका स्थानीयले तत्काल इलाका प्रहरी कार्यालय चिसापानीमा खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चिसापानीकी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) मिरा खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले करिब एक घण्टासम्म निरन्तर उद्धार अभियान सञ्चालन गरी चौधरीलाई सकुशल उद्धार गर्न सफल भएको प्रहरीले जनाएको छ।
उच्च बहावका कारण चौधरी सवार मोटरसाइकल भने खोलाबाट निकाल्न नसकिएको प्रहरीले जनाएको छ। उद्धारपछि चौधरीलाई आवश्यक सुरक्षा र हेरचाह गरी सोही राति सुरक्षित रूपमा घर पठाइएको थियो।
प्रहरीको समयमै भएको सक्रियता र इन्स्पेक्टर मिरा खड्काको नेतृत्वमा सञ्चालन गरिएको उद्धार अभियानका कारण बाढीमा बगेका चौधरीको ज्यान जोगिएको स्थानीयले बताएका छन्।




