
काठमाडौँ — उपत्यकामा सडक अनुशासन कायम गराउन ट्राफिक प्रहरीले निगरानी र चेकिङमा कडाइ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार १७३ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ।
पछिल्लो कारबाहीमा सबैभन्दा धेरै ८०४ वटा सवारीसाधन अन्य विविध कसुरमा परेका छन्। त्यसैगरी प्रविधिको प्रयोग गर्दै सिसीटिभीमार्फत ८० वटा, रातो बत्ती उल्लङ्घन गर्ने ५५ वटा र लेन मिचेर चलाउने ४४ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनावश्यक रूपमा हर्नको दुरुपयोग गर्ने ४१, एकतर्फी (वनवे) सडक नियम तोड्ने ३५, यान्त्रिक अवस्था ठीक नभएका १८, तीव्र गतिमा गुडाइएका १० र मादक पदार्थ सेवन (मापसे) गरेर चलाइएका ६ वटा सवारीसाधन पनि कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सडकमा हुने अव्यवस्थित आउजाउ रोक्न प्रत्यक्ष अनुगमन र सिसीटिभीमार्फत निगरानीलाई थप प्रभावकारी बनाइएको बताएका छन्। उनले दुर्घटना जोखिम न्यूनीकरणका लागि सबै चालकलाई तोकिएको लेन प्रयोग गर्न, रातो बत्तीको पालना गर्न र जिम्मेवार भएर सवारी चलाउन आग्रह गरेका छन्।




