
रौतहट — पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४, धन्सार पुल नजिकै साउन २१ गते बिहीबार बिहान ५:३० बजे पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना भई भीषण आगलागी भएको छ। सुरक्षाकर्मी र दमकलको टोलीले समयमै पुगेर आगो नियन्त्रणमा लिएका कारण ठूलो क्षति हुनबाट जोगिएको छ।
अमलेखगञ्जबाट सर्लाहीतर्फ इन्धन बोकेर जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर अचानक सडकमा निस्किएको मृगलाई जोगाउन खोज्दा अनियन्त्रित भई सडकको दाहिनेतर्फ पल्टिएको थियो। पल्टिनेबित्तिकै ट्याङ्करमा एक्कासि भीषण आगो सल्किएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सत्य नारायण थापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरीक्षक राजेन्द्र थापा मगरको नेतृत्वमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। साथै, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन सुरक्षा वेश निजगढ र सन्तपुरबाट पनि उद्धार टोली खटिएको थियो।
चन्द्रपुर र निजगढ नगरपालिकाबाट आएका दमकलहरूको सहयोगमा बिहान ६:५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइयो। आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने कुनै पनि मानवीय क्षति भएको छैन।
दुर्घटनापछि प्रहरीले ट्याङ्कर चालक बाराको सिमरा उपमहानगरपालिका–११ बस्ने २५ वर्षीय समीर गुरुङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। चन्द्रनिगाहपुर बजारबाट करिब १३ किलोमिटर पश्चिममा भएको यो घटनापछि अबरुद्ध बनेको राजमार्गको यातायात अहिले पूर्ण रूपमा सुचारु भइसकेको छ।




