
प्युठान, साउन १८ — प्युठानको नौबहिनी गाउँपालिका–२, पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय लुङ्गबहानेका प्रमुख प्रहरी निरीक्षक रामनारायण गुप्ताको कमान्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा वन क्षेत्रमा खोजतलास गर्ने क्रममा पातले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा ती हतियार फेला पारेको हो।

प्रहरीका अनुसार बरामद गरिएका सामग्रीमा १८ थान साबुत भरुवा बन्दुक, १४ थान बेसाबुत भरुवा बन्दुक, ४ थान बन्दुकका नाल, १ थान बटको कुण्डा तथा ३ थान भरुवा बन्दुकका चाप रहेका छन्।
वन क्षेत्रमा यसरी ठूलो संख्यामा अवैध हतियार लुकाएर राखिएको भेटिएपछि प्रहरीले यसको स्रोत, प्रयोगको उद्देश्य तथा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान तीव्र बनाएको जनाएको छ।
बरामद भएका हतियार कसले, कहिले र किन वनभित्र लुकाएर राखेको हो भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।




