काठमाडौँ — विश्व बाघ दिवसका अवसरमा कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालमा बाघको पछिल्लो तथ्यांक सार्वजनिक गरेको छ। मन्त्री गिता चौधरीले सार्वजनिक गर्नुभएको २०८२ को गणनाअनुसार मुलुकभर बाघको कुल सङ्ख्या ४२९ पुगेको छ।

संरक्षण क्षेत्र तथा बासस्थानमा भएको सुधार र आहार प्रजातिको वृद्धि भएसँगै बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि आएको मन्त्रालयको भनाइ छ। सन् २०२२ को गणनामा नेपालमा बाघको सङ्ख्या ३५५ रहेको थियो।

कुन निकुञ्जमा कति बाघ? (तथ्यांक तुलना)

नेपालमा प्रायः हरेक चार वर्षमा बाघको गणना गर्ने गरिन्छ। पछिल्लो तथ्यांकअनुसार राष्ट्रिय निकुञ्जहरूमा बाघको उपस्थिति निम्न अनुसार छ:

  • चितवन राष्ट्रिय निकुञ्ज: १४५ (सन् २०२२ मा १२८)

  • बर्दिया राष्ट्रिय निकुञ्ज: ११२ (सन् २०२२ मा १२५)

  • पर्सा राष्ट्रिय निकुञ्ज: ७१ (सन् २०२२ मा ४१)

  • बाँके राष्ट्रिय निकुञ्ज: ५१ (सन् २०२२ मा २५)

  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज: ५० (सन् २०२२ मा ३६)

बाघ गणनाको इतिहास र दिवसको पृष्ठभूमि

मन्त्रालयले सन् २००९ देखि नियमित रूपमा बाघ गणना गर्दै आएको छ। सन् २०१० मा १२१ रहेको बाघको सङ्ख्या सन् २०१४ मा १९८ र सन् २०१८ मा २३५ पुगेको थियो।

सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा सम्पन्न बाघ शिखर सम्मेलनको घोषणापछि हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो। बाघको घट्दो सङ्ख्या रोक्न र तिनको प्राकृतिक बासस्थान जोगाउने उद्देश्यले यो दिवस मनाइन्छ।

प्राकृतिक खाद्य शृङ्खलाको माथिल्लो तहमा रहने बाघलाई स्वस्थ पारिस्थिकीय प्रणाली (Ecosystem) को महत्त्वपूर्ण सूचक मानिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय