
काठमाडौं — देशका विभिन्न स्थानमा २४ घण्टाको अवधिमा ४२ वटा विपद्का घटना घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ११ गते बिहान १० बजेदेखि साउन १२ गते बिहान १० बजेसम्म भएका यी घटनामा परी तीन जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन्।
प्राधिकरणको विवरणअनुसार यो अवधिमा देशभरका १० वटा जिल्ला विपद्बाट प्रभावित बनेका छन्। घटनामा कुनै पनि व्यक्ति बेपत्ता नभएको प्राधिकरणले जनाएको छ।

सर्पदंश र पहिरोका घटना सबैभन्दा बढी
एकै दिन भएका विपद्मध्ये सर्पदंश र पहिरोका घटना सबैभन्दा धेरै छन्। प्राधिकरणका अनुसार:
सर्पदंश: १२ वटा
पहिरो: १२ वटा
आगलागी: ७ वटा
अविरल वर्षा: ६ वटा
जनावर आक्रमण: ३ वटा
बाढी: १ वटा
भूकम्प: १ वटा
यी विपद्का घटनाहरूबाट करिब ९ लाख २२ हजार ५०० रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
वैशाखयता १९२ जनाले गुमाए ज्यान
चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि साउन १२ गते बिहानसम्मको तथ्यांक हेर्दा देशभर विपद्को अवस्था भयावह रहेको देखिन्छ। यस अवधिमा ३ हजार ७८८ वटा विपद्का घटना भइसकेका छन्।
प्राधिकरणका अनुसार साढे तीन महिनाको यो अवधिमा विपद्मा परेर १९२ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन्। यस्तै, १ हजार १३९ जना घाइते भएका छन् भने कुल ५ हजार ४ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।




