
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले करिब रु. १ अर्ब ८९ करोड ६५ लाखभन्दा बढी रकमको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
सीआईबीका अनुसार प्राप्त गोप्य सूचनाको आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा धादिङको साविक सत्यदेवी–८ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–८, राधाकृष्ण मन्दिर क्षेत्रमा बसोबास गर्दै आएका ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी उक्त परिमाणको हुण्डी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट हुण्डी सम्बन्धी कसूरमा पक्राउ अनुमति प्राप्त भएपछि उनलाई साउन १२ गते नागार्जुन–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबरा ले जानकारी दिएका छन्।




