
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले काठमाडौं महानगरपालिका–१४, गाङखेलबाट ठूलो परिमाणको लागुऔषध ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, मोतिहारी घर भएका २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया–५ निवासी २१ वर्षीय नौसाद अन्सारी तथा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–५ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–६ बस्दै आएका २४ वर्षीय दिपक राई रहेका छन्।

भारतबाट विभिन्न सीमावर्ती नाकामार्फत अवैध रूपमा ठूलो परिमाणमा ट्रामाडोल काठमाडौं भित्र्याई बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा डीआईजी दिपेन्द्र शाहको नेतृत्वमा परिचालित एपीएफ इन्टेलिजेन्स ब्युरोको टोलीले २०८३ साउन १२ गते साँझ करिब ७:२० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूको साथबाट १ लाख २० हजार क्याप्सुल (१२ हजार फाइल) ट्रामाडोल, टाटा कम्पनीको BAC 7017 नम्बरको हात्ती गाडी, बागमती प्रदेश ०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, एन्ड्रोइड मोबाइल ३ थान, नगद रु. १,७४५, एक थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा सवारीको बिलबुक बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जना तथा बरामद सामग्रीलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि एपीएफ रेजिमेन्ट मुख्यालय, बलम्बुमा बुझाइएको छ।
सशस्त्र प्रहरीका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा सक्रिय लागुऔषध कारोबारको सञ्जालविरुद्ध विशेष निगरानी र कारबाहीलाई तीव्र बनाइएको छ।




