
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासको सट्टा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था लागू गरिने बताएका छन्।
राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री गुरुङले सीमा क्षेत्रको वास्तविक अवस्था बुझ्न सादा पोसाकमा परिचालन हुने स्पेसल टास्क फोर्स गठन गर्ने तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार सीमासम्बन्धी गतिविधिको नियमित, प्रभावकारी तथा निष्पक्ष अनुगमनका लागि यस्तो संयन्त्र परिचालन गरिनेछ। प्रत्यक्ष स्थलगत निरीक्षणको जिम्मेवारी अब विशेष टोलीलाई दिइने भएकाले सीमा सुरक्षामा थप प्रभावकारिता आउने विश्वास व्यक्त गरे।
गृहमन्त्री गुरुङले मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले लामो समयदेखि विभिन्न समस्या र अभाव झेल्दै आएको उल्लेख गर्दै विगतमा ती क्षेत्रका जनभावनालाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्ति देखिएको बताए।
उनले अब ती प्रदेशका नागरिकका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्दै दुःख र पीडालाई राजनीतिक लाभको विषय बनाउने अभ्यास अन्त्य हुनुपर्नेमा जोड दिए। साथै, सम्बन्धित क्षेत्रका नागरिकले भोग्दै आएका कठिनाइको दिगो समाधानतर्फ सरकार केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे।




