
पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालमा डुङ्गा सयर गर्ने पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रहरीले डुङ्गा चालकहरूको मादक पदार्थ तथा लागुऔषध सेवन (मापसे/लापसे) सम्बन्धी विशेष जाँच अभियान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा पोखरा महानगरपालिका–६ स्थित बाराहीघाट क्षेत्रमा सञ्चालन गरिएको अभियानअन्तर्गत फेवातालका विभिन्न घाटमा डुङ्गा चालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो।

प्रहरीका अनुसार अभियानका क्रममा ३२ जना डुङ्गा चालकको परीक्षण गरिएकोमा तीन जनाले लागुऔषध गाँजा सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको छ।
वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराईले पक्राउ परेका चालकमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनका अनुसार पर्यटक तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता निगरानी तथा चेकजाँच अभियानलाई निरन्तरता दिइनेछ।




