
बुटवल । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि जरिवाना र कारबाहीलाई मुख्य उपाय मानिने चलन छ। तर बुटवलमा भने ट्राफिक प्रहरीले फरक अभ्यास सुरु गरेको छ। चालकलाई कारबाहीभन्दा सचेतना र व्यवहार परिवर्तनमा जोड दिँदै ‘वान साइड पार्किङ’ अभियान सञ्चालन गरिएको हो।
तीव्र सहरीकरण, बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङका कारण ट्राफिक समस्या तथा दुर्घटना बढ्न थालेपछि लुम्बिनी प्रदेश ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले अभियान सुरु गरेको हो।

अभियानअन्तर्गत ‘नो पार्किङ’ क्षेत्रमा पार्किङ गरिएका सवारी साधनलाई उपयुक्त स्थानमा सार्ने, चालकलाई सही पार्किङको अभ्यास गराउने, ट्राफिक नियमबारे जानकारी दिने तथा सडकमा प्रयोग गर्नुपर्ने सही लेनबारे प्रशिक्षणसमेत प्रदान गरिँदै आएको छ।
ट्राफिक प्रहरीले जरिवानाले मात्र ट्राफिक व्यवस्थापन प्रभावकारी नहुने निष्कर्ष निकाल्दै सचेतनामूलक अभियानलाई प्राथमिकता दिएको जनाएको छ।
बुटवल हुँदै पूर्व–पश्चिम महेन्द्र राजमार्ग र उत्तर–दक्षिण सिद्धार्थ राजमार्ग गुज्रिएका छन्। यसबाहेक व्यावसायिक क्षेत्रका भित्री सडकमा सवारीको चाप अत्यधिक हुने, ट्राफिक नियम उल्लङ्घन र अव्यवस्थित पार्किङका कारण जाम तथा दुर्घटनाको जोखिम बढी देखिन्छ।
ट्राफिक प्रहरीका अनुसार सुरक्षित र व्यवस्थित सहर निर्माणका लागि चालक मात्र होइन, सबै सडक प्रयोगकर्ताले ट्राफिक नियमको पालना गर्नु आवश्यक छ।
कारबाहीभन्दा सिकाइमा आधारित यो अभियानलाई स्थानीय नागरिकले पनि सकारात्मक रूपमा लिएका छन्। अभियानमार्फत चालकलाई सही स्थानमा पार्किङ गर्न सिकाउने, अव्यवस्थित पार्किङ भएका सवारीलाई व्यवस्थित गरिदिने तथा ट्राफिक अनुशासनबारे सम्झाइबुझाइ गर्ने काम भइरहेको छ।
बढ्दो सहरी ट्राफिक अव्यवस्थापन र सवारी दुर्घटना नियन्त्रणका लागि बुटवलको यो अभ्यास अन्य सहरका लागि पनि अनुकरणीय बन्न सक्ने देखिन्छ।




