
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले राजस्व छली गरी ल्याइएको करिब तीन लाख रुपैयाँ बराबरको भारतीय सुर्तीसहित एक मिनिट्रक नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार असार २९ गते दिउँसो करिब १ बजे वीरेन्द्रनगर नगरपालिका–३ एरिचोकस्थित सडकमा सवारी साधन चेकजाँचका क्रममा भे.१ ख १९७६ नम्बरको मिनिट्रक रोकी जाँच गर्दा बिल–बिजकविहीन भारतीय सुपरपावर सुर्ती ८९७ पोका फेला परेको थियो।

उक्त मिनिट्रक बाँकेको जानकी गाउँपालिका–५ निवासी ३५ वर्षीय कृष्णकुमार हरिजनले चलाइरहेका थिए। बरामद सुर्तीको अनुमानित मूल्य करिब तीन लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले मिनिट्रक, बरामद सुर्ती र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि थप कारबाहीका लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय, वीरेन्द्रनगर, सुर्खेत पठाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए।




